Sunday, March 3, 2019

सानुमाया

"हो हो! त्यो सपना हो।  सपना मात्र भैदियोस।  त्यो हुन सम्भव छैन  ति मान्छेहरु सबै नाटक गर्दैछन ऊ … मेरो मान्छे मलाई  एक्लै छोडेर जानै सक्दैन।  ऊ... त्यसैले हो मेरो… मान्छे…  ", कपालको रौ खुल्लै छोडेकी, हरियो लुङ्गि एकसरो पटुकाले कम्मरमा खुकुलो गरि कसेकी, आखाँ गोलभेडा झैँ राता र सुन्निएका, न होची न अग्ली, उमेरले बिस बाइस जस्तै देखिने एउटी महिला एक्लै बोल्दै थिई। उसका कुराहरु कसैले पनि  बुझ्न सकेका थिएनन्।पल्लो गाँउबाट  रुनमाया दिदि पनि आएर हिजोदेखि संगै बसेकी थिई।  घरका सबैजना अलमलमा परेका थिए।

सानुमायाको लोग्ने कतार गएको हिजो पाँच वर्ष पुगेछ। गाँउभरि गाइगुइ चलेको थियो आज। सानुमायालाई सबैले अनौठो मुखाकृति गरेर मात्र हेर्दथे, तर कोहिपनि केहि बोल्दैनथे।  दिनभर  अनौठो ब्यबहारहरु देखापरेका थिए उसमा । एक्लै बोल्थी।  एकान्तमा टोलायर बस्थी।  झर्केर बोल्थी। फोन समाएर घन्टौ सम्म एकोहोरिन्थी।  

" के सपना सपना भनेकी तैले? तेरो अनुहार पनी सुकेको चुलेत्रोको पात जस्तै भएको छ! भन्  सानु के भयो तलाई?", रुन्मायाले सोधी 

सानुमायाको आँखाबाट दुइथोपा आँशु  कर्कलाको पातबाट शितको थोपा खसेजस्तै गरि खसे ।  ऊ  केहि बोलिन।

"हिजै  देखि यसलाई खै के भएको नानि हाम्लाई पनि केहि भन्दिन। रातिमा पनि एक्लै बोल्छी। हिजो राति छोरासंग होला कुरा गरेको भनेकी थिए।  कहिले पनि अरुको  चियो चर्चो नगर्नि म, यसैको पिरले हिजो ढोकामा गएर चियो गरे नानि।  यो यस्तै यस्त्यै के के बर्बराउदी  रैछ। रातभरी निन्द्रा लागेन।  मनमा कुरा खेलिरहे। छोरा संग पनि धेरै भयो फोन नभएको।  उसैले फोन गर्थ्यो बेला बेलामा ", सानुमायाको सासु  लालमातिले  टाउकोबाट मुजेत्रो  झिकेर आँसु पुछ्दै   भनिन् ।

"रनेले फोन नगरेको कति भयो आमा ?" रुन्मायाले सोधी।

"दशैँको दिन फोन गरेको थियो। गाँउभरिका सबैलाई सोध्यो। 'काम कस्तो ? दुख कि छैन?' भनेर सोधे।
"आमा, कामको कुरा नसोध्नुस।  काम गर्न गाह्रो   भैहाल्छ जहाँ  गएपनि।  गाँउघरमा घासदाउरा, भिरपखेरा गर्दा पनि दुखै थियो। हजुरहरुलाई पनि दु:खै आजसम्म।  मेरो पिर नगर्नुहोला।  स्वास्थ्यको ख्याल गर्नुहोला भन्थ्यो। " लालमतीले सुख्क  सुख्क  गर्दै भनिन् ।

सबैजना सानुमायाको खोपी बाहिर घेरिएर बसेका थिए ।  लालबहादुर घरमा थिएनन्।  उनि हिजोदेखि गाउमै हराएका  थिए  यो परिबारको लागि खासै नौलो कुरा थिएन  यसको अर्थ यो पनि होइन कि उनलाई परिबारको बारेमा चिन्ता छैन।  गाँउघरमा सबैको समस्या बुज्दै हिड्नु सकेको सहयोग गर्नु उनको कर्म थियो 

"आँमाखै मैले ठुल्बालाई देख्दिन , कता जानु भाको ?" रुन्मायाले यताउति हेर्दै सोधी।

"खै नानि, ठुल्बाको आनीबानी तलाई थाहै छ।  स्कुलको कचरी छ।  मुख्याले "बेलुका आउनोला सल्ला गर्न छ" भनेका थे  रे।  खै के को सल्ला हो बिनासित्तैको ?  घरमा बुहारीलाई यस्तो भएको अलि अलि भानि  था छ। आउन पर्नि  हो।

तिमीहरु सब्बै मेरो राम हेर्न आएका हौ। हेर ! यी हेर। मलाई खाऊ। सबै मिलेर चोक्टा चोक्टा पारेर खाऊ",  सानुमाया एकोहोरो बोल्छे। 
 
के बोलेकी छौ तिमि ? होसमा त छौ ? के भयो तिम्लाई  ?” रुन्मयाले उसको हात समाउदै सोधी 


सानुमायाँ केहि बोल्दिन। उ एकोहोरो माथितिर हेर्छे।

लालमती गोठतिर लाग्छे  आज बिहानै देखि गाईबस्तुले केहि खान पाएका छैनन।  ठिक समयमा गाइबस्तुलाई घासपानी गर्ने  यै थी। लालमायाले एकमुठो  सुकेको खर भारबाट निकालेर भैसीको भकारो मा राखिदिन्छे।

पल्लो घरकी कालिका दिदि उनको छोरा पनि घरमा आउछन् । कालिकाले नै हो बतुरी दिदिसंग हिजो रातो बाकसमा कतारबाट लाश आएको छ रे कसको हो थाहा छैन भनेर भनेको। त्यति बेला सानुमाया आगो लिन टुप्लुक्क पुगेकी थिई कालिकाको घरमा।   
 
"बरै नि के भयो सानेलाई", कालिकाले सनुमायालाई साने भनेर बोलाउने गर्छे ।

" खै के भयो भनौ।  कुरा सोरका गर्दिन।  खाना पनि खाकी छैन हिजोदेखि।  सबै जना अलमल परेका छौ ' रुनमायाले भनी। 

सानुमयाले एकतमासले कालिकाको अनुहारमा हेर्छे। केहि बोल्दिन।

" कतै देबी देवता पो लाग्यो कि ? अलि जान्ने मान्छेलाई देखाउन पाए पनि हुन्थ्यो गाँठे  देउरालीका राईला काकाले ट्याक्कै पार्चन  भन्ने सुनेकी छु।  एकचोटी देखाउदैमा केहि बिग्रने होइन केरे  ",  कालिकाले रुन्मायाको  आँखामा  हेर्दै भनी ।

त्यतिकैमा सानुमाया ओछ्यानबाट जर्फराउदै उठी आगनको डिलमा पुगि।  सबैजना अलमलमा परे।  आगनको तलपट्टी उखुबारी थियो।  हेर्दा हेर्दै ऊखुबारीमा फाल हाली  सानुमाया

" लौन अब यो मर्छे।  कसैलाई गुहार माग" भन्दै रुनमाया पछि पछि दौडिन्छे।  उखुबारीको पुछारमा भोगटेको  रुख थियो। त्यहि रुखको फेदमा रुनमायाले सानुमायाको हात समाउछे।

उसका हातखुट्टा थरथरी काँप्छन्   कालिका पनि पछि पछि साथ दिन पुग्छे।  दुबैजनाले उसलाई तानेर घरको पिडि सम्म लेर आउछन।

गाँउमा केटाकेटी बाहेक कोहि  छैनन्। लालमती रुदै बाटो तिर भलाक्छिन् ।  लालबहादुर अहिलेसम्म घर आएका छैनन्। गाँऊमा गुहार माग्नेजस्तो मान्छे पनि कोहि छैन।

त्यहि बेला वरिपरिबाट दुइतिनजना  महिलाहरु जम्मा हुन्छन। सबैजना एक अर्काको कान कानमा सासै सासले कुरा गर्छन। सबैले एउटै प्रश्न सोध्छन," के भयो तलाई ?"

सानुमायाँ केहि बोल्दिन। रूदारूदा उसका आखा राता भएका छन्। सुन्नियका छन् त्यतिकैमा उसले  हात जोडसंग झड्कार्छे उम्किन खोज्छे। कालिका र रुन्माया दुबै जनाले उसलाई जोडसंग अठ्याउछन्।

यदि यस्तै गरिस भने साने तलाइ हाम्ले नाम्लाले थामॉ बानेर राख्चम ।कालिकाले जोडसंग पाखुरा अठ्याउदै भन्छे।

रात ढल्किदै जादा सबैको मनमा एकखालको अत्यास बढ्दै जान्छ। के गर्ने , कसो गर्ने कसैले केहि मेसो पाउदैनन। सानुमाया झन् झन् उखर्माउलो गर्दैछे।

केहीबेरपछि लालबहादुर टुप्लुक्क आइपुग्छन। सबै मान्छेहरु जम्मा भएर कोकोहोलो मच्याएको देखेपछि उनको होसहवास उड्छ।  बिहान घरबाट निस्कने बेला सबै ठीकठाक थियो।  एक्कासी के भयो भनेर आत्तिदै यताउता  भलाक्छन्।

" हैन के को भिड हो यहाँ ? कसलाई के भयो ? " उनि हतारिदै सोध्छन।

लालमती भित्रबाट बाहिर निस्कन्छे।  आफ्नो लोग्नेलाई घुरेर हेर्छे। " हैन यो छोरोमान्छेको केहि ठेगाना नहुने। बिहान भाले बास्दा निस्केको मान्छे यतिखेर घर आउछन् ।  बुहारी हिजोदेखि केहिपनि खाएकी थिन।  लाटो भूतले छ्लेजस्तो भैकीथी। हजुर गएको एकैछिनमा  बर्बराउन थालि। हेर्नुस यसलाई के भयो।  कतै लामा झाक्रीलाई देखाउनि हो कि ?" लालमतिले सबै कुरो एकै सासमा भनिन।

लालबहादुर पनि अक्क   बक्क परे।" हैन ठुलो बा देउरालीका राईला काकालाइ बोलाउनेकी भनेको। कतै देबी देवता लागेको भए उनले झारफुक गरेर पनि निको पार्छन रे भन्नि सुनेकी छु। " कालिकाले कुरो थपी।

लालबहादुर  नजिकै उभियर मायालु नजरले सानुमायाको मुख हेर्छन।  उनि केहि पनि बोल्दैनन। सानुमाया पनि अर्कोतिर अनुहार फर्काएर बस्छे।

लालबहादुर आफ्नो झोला छाता दलिनको एकछेउमा झुण्डाउछन सरासर भित्र पस्छन।  लालमती पनि पछि पछि लाग्छिन।

लालमतिले बुढालाई बुहारीको बारेमा सबै बेलिबिस्तार लाउछे। उनिहरू के गर्ने के नगर्ने अलमलमा पर्छन।

हैन बुढा छोरालाई एकपल्ट फोन गर्ने हो कि? सधै हप्ता दिन बिरायर फोन गर्दथ्यो। यसपाला किन नगरेको होला। "
लालबहादुर अलमल पर्छन।  "खोइ सधै उसैले  फोन गर्थ्यो।  मलाई फोन गर्नी मेसो पनि छैन ", हातमा मोबाइल लिएर अलमल पर्दै भन्छन।

बाहिर हल्ला बद्छ।  लालबहादुर हतारिदै बाहिर निस्कन्छन।  सानुमाया फेरी बारितिर भागिछे।  रुनमाया कालिका पछि पछि दौडदै रहेछन।

"लौ नि , यो भीरतिर पो जदैछ।  लौ कसो गर्नी होला। "

लालबहादुर पनि पछि पछि जान्छन।  करिब दुइसय मिटर जति तल खर्सुको रुखमा पुगेर कालिका रुनमायाले सनुमयालाई समाउछन।उनीहरुले बल्ल बल्ल लतारेर घरसम्म ल्याउछन

सबैजनाले सल्लाह गरि  सानुमायालाइ डोरीले बानेर कोठामा राख्छन।  कालिका रुनमायाले उसलाई कुरेर बस्छन कोठामै।  लालबहादुर लामालाई बोलाउन देउराली तिर लाग्छन।

केहीबेरमै देउराली राईलालाई लेर आउछन लालबहादुर।  गाँउमा सबैले उनलाई राईला बाजे भनेर बोलाउछन्।
राइलबाजे धुपधजा अछेता जम्मा गरेर आफ्नो बिधि गर्न तर्फ लाग्छन।  अलिबेर अछेता मन्साइसकेपछि टाउको हल्लाउदै भन्छन " छिछि छि तारेभिरको कालोमसान हुहुहू।.…  तलाइ छोड्दै छोडदिन। हुहुहुह … हह्हः "

" के चहियो भन् हामि दिन तयार छम् ,अन्जानमा गल्ति भएको भए माफ गर", लालबहादुरले हो मा हो मिलाउछन्। 

" हहह्ह …. मलाई कालो बोकाको रगत चाहिन्छ …. हह्हा …. हुहूहुहुह्ह …  " यस्तै यस्तै के के भन्दै  जान्छन लामा बाजे।  धेरै बेरमा रोकिन्छन।

" हेर भाइ, थाह पाइहाल्यौ तारेभिरको मसान लाएको रैच  यो अफ्ठेरो पो छ।  बेलैमा पुजा गर्न पर्यो।  कालो पाठो कता पाइन्छ बरु भोलि नै खोज्न परो।  अहिले खरानी फुक्दिन्छु।  एक जोडा धजा फाल्दिन परो अहिल्यै।" लामा बाजेले भने।

लालमतिले आँटीमा गएर धुपधजा लिएर आइन।  लालबहादुरले धजा बाहिर लगेर कुट्मेरोको हाँगामा बानिदिए लामा बाजेले खरानी फुकेर दिए।  लालमतिले खरानी लगेर लगाइदिइन बुहारीलाई ।

केहिबेर स्थिति  सुनसान भयो   अब सानुमायालाई निको हुन्छ कि भन्ने लाग्यो सबैलाई। लामाबाजे पनि खानपिन पछि लागे घरतिर सानुमायाले पनि  एक चोइलो आटो खाई।  रात अलि ढल्की सकेकाले लागे सबैजना सुत्ने तरखरमा। रुनमाया घरतिर लागि भने कालिका त्यहि सुत्ने भई।  


भोलि पल्ट स्थिति सामान्य बनेपछि कालिका पनि आफ्नो घर गई।  सानुमाया  उठेर सधैजस्तो गाइभैसीलाइ पानि तताउन गोठतिर लागि। सबैले राईला बाजेलाइ धन्यबाद दिए। लालमतिको अनुहार अलिकति भएपनी उज्यालो भयो। 

भोलिपल्ट घाँस काट्न खरबारी गएकी सानुमाया अबेर सम्म पनि आइन घर।   सबैजनाले खोजे उसलाई।  कहाँ कहाँ खोजेनन, तर कहिपनि भेटेनन् लालबहादुरले छोरासंग सम्पर्क गर्न खोजे तरपनि सकेन सम्पर्क हुन।  डाँडाघरे  मने देउरालीको सन्ते लागे सानुमायाको माइतितिर खोज्नलाई। सानुमाया  माइत पनि गएकी थिइन। 
खोज्न गएकाहरुले  सबैकुरो सानुमायाको बुवालाई भन्न  सकेनन् ।  यत्ति भनेकी "सानुमाया घरमा छैन।  "

त्यसपछि उनीहरुले सानुमायालाई खोज्न काफल्टोला, भिरमारा, जैथुम्का जताततै पुगे।  केहि खबर पाएनन्।  कसैले भने भीरबाट खसी   कसैले भने बौलाएर  हिडी।  गाँउभरी हल्ला फैलियो।

लालबहादुरले लगातार छोरासंग सम्पर्क गर्न खोजे तर पनि सम्पर्क हुन सकेन।घरको फोनबाट छोरासंग सम्पर्क नभएपछी उनि हरिलालको छोराको पसलतिर लागे छोरालाई फोन गर्न।  अझैपनि उसको फोन उठेन।  हरिलालको छोराले कम्पनीमा फोन गरे।  कम्पनीको एकजना कर्मचारीले उ  एक्सिडेन्ट 

छोरी हराएको खबर थाहा पाएपछि धनेका बुढा  बुढीको होस् हवास् उड्यो  निद हराम भयो।  सबै मिलेर खोजे उसलाई।  दिन, हप्ता हुदै महिना दिन पुग्यो अह कतै भेटिइन सानुमाया। गाँउमा सबैले माया मारे। 

एकदिनअचानक  गाँउमा कसैले खबर ल्यायो  सानुमाया नारायणघाट बजारमा नाङ्गै थि अरे। एक कान दुई कान मैदान भने झै हल्लाको डडेलोले गाऊ खर्लप्प पार्यो। 

लालबहादुर  भिरमुनीको  ज्ञाने कामी भएर एकबिहानै लागे बाटुलीचौर बसपार्कतिर। नारायणघाटको बस छुट्नै लागेको थियो चढे  हुटको सिटमा  टिकट काटेर। केहिबेरमै बस छुट्यो कुइरिमन्दल धुलो उडाउदै। 
बेलुका सात तिसमा बस नारायणी नदीको पुलको मुखैमा रोकियो। 

नारायण, नारायणघाट, झर्नुस, झर्नुस!” खलासी चिच्यायो जोडसंग। लालबहादुर ज्ञाने झरे बसबाट बत्ताउदै। 

बाजे कति खानोको ?” जोक गर्ने पाराले बोल्यो खलासी। लालबहादुरलाई झनक्क रिस उठ्यो तर केहि बोलेनन्। बसबाट झरेपछि कता जाने, के गर्ने अलमलमा परे दुबैजना। ब्यस्त शहरमा चिने जानेको कोहि थिएन राति भैसकेकोले मान्छेहरू तछाड मछाड गर्दै थिए। कसैसंगपनि फुर्सद थियन सोधेको जवाफ दिन। मैला कपडा, निन्याउरो अनुहार देखेर होला होटलका दलालहरू पनि आएनन् नजिकहजुरभन्नलाई।

पोखरा बसपार्कतिरबाट एउटा रिक्सा आयो बत्ताउदै उनिहरू भएको ठाउतिर। छोला जस्तो गरी रिक्सा रोक्यो।बस्नुस हजुर, कहॉ जानुपर्ने हो?”, भन्यो रिक्सावालाले। रक्सिको गन्ध ठुस्स गनायो लालबहादुरलाई। मतवाली भएपनि उनले रक्सि कहिले पिएका थिएनन्।  

होटलमा जानी हो। अली सस्तो खालको”, ज्ञानेले भन्यो।

बस्नुस हजुर, चिन्ता गर्नै पर्दैन। मैले चिनेको होटल राम्रो, सस्तो”, खिस्स दात देखाउदै बोल्यो रिक्सावाल। दुबैजना बसे रिक्सामा। रिक्सा बत्याउदै लाग्यो नारायणीको तिरैतिर दक्षिणतिर भित्री गल्ली सागुरो हुनुको साथै रिक्सा, साईकल मोटरसाईकलले ठेलमठेल थियो। कतै सानुमायालाई देखिन्छेकि  भनेर टाढा टाढा सम्म हेरे लालबहादुरले तर देखेनन् नाङ्गो शरिर। देखे जिस्कदै गरेका युवायुवति असरल्ल बाटो वारिपारी। देखे भुस्याह कुकुरहरू सडकका पेटीहरूमा सुतिरहेको। 

रिक्सा एकोहोरो घन्टी बजाउदै भिड छिचोल्दै बत्ताइरह्यो करिब पन्द्र मिनेटजति रोकियो एउटा भत्किनै लाएको  घर अगाडी। भित्ताहरूमा जिन्दाबात मुर्दाबातका नाराहरू कोरिएका, कतै रंग खुइलियको। सटर तान्ने पेटिनिरै दुईवटा लुते कुकुर सुतेका।

 " होटेल चम्पा " साइनबोर्ड झुन्डिएको थियो धुलो र माकुरो जालोले छोपेको। 

होटेलको  काउन्टरमा चम्पा पान चपाउदै थिई। बाहिरको टेबलमा दुइ चारजना चुल्ठेहरु रक्सि र सेकुवा खादै थिए। लालबहादुर र ज्ञाने पनि बसे नजिकैको टेबलमा।  रिक्सावालाले पचास रुपैया माग्यो उनीहरुसंग।  साउनीले एक गिलास रक्सि दिएर गाला मुसारि रिक्सावालाको।  

रिक्सावालाले एकै सासमा सिनित्त  पार्यो। 

" ल तपैहरु ढुक्कसंग बस्नुस।  मेरो आफ्नै दिदि हो।  दिदीले मिलाएर दिनुन्छ", खिस्स दाँत देखाउदै हेर्यो  चम्पातिर। 

चम्पाले छड्के आँखाले हेरी र खिस्स हास्दै भनि ," अझै दुइटा कोठा खाली छन् है।  फेरी अन्तै बतुराउलास् ।" 
चम्पाले लालबहादुर र ज्ञानेलाइ लगी कोठातिर। उ  कोठामै बसी उनिहरुसंगै। लालबहादुर र ज्ञानेले  चासो दिएनन्।खिस्रिक परेर फर्की।  

एकाबिहानै लालबहादुर र ज्ञाने  निस्के होटलबाट बिनामेसै। दिनभरी ड़ूले नारायनगढ   बजार।  सानुमायालाई  देखिन्छ कि भनेर सडकका पेटी पेटी चाहारे।  थुप्रै पागलहरू देखे बजारको गल्लि गल्लीमा।  तर देखेनन् सानुमाया लाई।  

खोज्दै खोज्दै बसपार्क पुगे।  बसपार्क को पछाडी एउटी महिला निर्बस्त्र हिड्दै गरेको देखे।  उसको पछि पछि एकदर्जन जति झुत्रे केटाहरु उसलाई जिस्काउदै लखेटी रहेका थिए।  लालबहादुर झसङ्ग भए।  परैबाट नियालेर हेरे उसलाई।  अनुहारमा चोटै, चोट, खोटै, खोट भएकोले चिन्ने नसक्ने अवस्थामा थिई त्यो महिला। अलि पर पुगेपछि ढुंगा टिपेर हान्न लागि केटाहरुलाई।  केटाहरु भागे।  उ एउटा सागुरो गल्लि भित्र पसी।  लालबहादुरले ज्ञानेलाई नजिकै गएर हेर्न र उ सानुमाया  हो कि होइन चिन्न भने। 

ज्ञाने त्यो  महिलाको बाटो पछ्यौदै गयो।

त्यो महिला  एउटा फोहोरको थुप्रोबाट एउटा कपडा निकालेर सरिरमा बेर्दै थिई । ज्ञाने नजिकै गएर नियाल्यो।  त्यसपछि  उसलाई पक्का विश्वास भयो कि त्यो महिला सानुमाया होइन।  

मनमनै सोच्यो 'कति धेरै पो रहेछन्  यो शहरमा पागलहरू ।'

लालबहादुरको नजिकै गएर भन्यो, ' त्यो आइमाई सानुमाया होइन।  मैले नजिकै गएर हेरे।  त्यो आइमाई बाउनि हो। उसको नाक चुच्चो छ। सानुमाया तेती अग्ली पनि छैन।"

हिड्दै हिड्दै हाकिम चोक पुगे उनीहरु।  बर र पिपलको चौतारीमा सितल खादै थिए एकजना बुढो मान्छे आएर उनीहरुको नजिकै बस्यो। उनीहरुलाइ चिन्तित देखर होला सायद उसले सोधपुछ गर्यो। उनीहरुले पहाड घर र मदेस दुवैको बारेमा कुरा गरे। 

त्यो बडो भलाद्मी जस्तै लाग्ने मान्छेले उनीहरको कुरा सुनिसकेपछि पुलिस चौकीमा खबर गर्न सल्लाह दियो।  उसले नजिकै भएको पुलिस कार्यालय पनि देखाइदियो। 

लालबहादुर र ज्ञाने पुलिस चौकी गए उतिबेलै। उनीहरुलाई के भन्ने, कसो गर्ने मेसो भएन। 

अलमल परेको देखेर बाहिर गार्ड बसेको पुलिसले सोध्यो , ' हजुरहरु के कामले आउनुभएको होला ?"

"हाम्रो बुहारी घरबाट हराएकी थिई एकमहिना पहिले। यता छे रे भन्ने सुनेर खोज्न आएको। " लालबहादुरले दबेको स्वरमा भने। 

गार्डले उनिहरुलाइ महिला पुलिस भएको ठाउमा पुर्यायो र सबै विवरण भरेर बुझाउन लगायो। 

अधबैसे महिला पुलिस उनीहरुलाई आफ्नो अफिसमा बोलाई र प्रश्नहरु सोधी। 

नाम : सानुमाया 

उमेर : २२  वर्ष 

उचाई : हजुर जतिकै होला हजुर 

मानसिक अवस्था : के भनौ हजुर! हराउनु भन्दा अघिल्लो दिन मसान लाको थियो।  कालो बोको पनि भोग गरेकै हो।  सोर नभएको कुरा गर्थी। 

हराएको मिति : २०२० /१० /०५ 

खत : दाइने गालामा चन्द्रमा आकारको खत 

लगाएको कपडा : हराउने बेला हरियो बुट्टा भएको लुङ्गि  र रातो बुलुच  लगाई  थी । अहिले नाङ्गै छे रे भन्ने सुनेको हजुर। 

महिला पुलिसले फाइल फर्काइ फर्काइ हेरी। " हामीहरुले  हिजो एउटा महिला अचेत अवस्थामा फेला पारेर उद्धार गरेका छौ।  उसलाई बलात्कार भएको हुनसक्ने संका छ पुलिसको। उसको सरिरमा कुनै कपडाहरु थिएन। अहिले उसको  भरतपुर अस्पतालमा उपचार हुदैछ।  होसमा आइकी छ रे अहिले।  उ केहि बोल्न सकेकी छैन।हामि अनुसन्धान गर्दै छौ।  तपाइहरु भोलि आउनुस।  अहिले जान सक्नुहुन्छ", उसले भनि।

लालबहादुरको होसहवास उड्यो।  उनीहरु केहि बोल्न सकेनन।  हिडे लुरु लुरु बाहिरतिर। 

उनीहरु फेरी पनि त्यहि चौतारीमा बसेर यता उति भलाक्न लागे।  हेर्दा हेर्दै अध्यारो हुदै गयो।  कता जानी , कहाँ बस्नी केहि मेसो पाएनन्।  हिजो मात्र उनीहरुले आँठ सय  होटेलमा बुझाएका थिए।  भात खाने र घर फर्कने पैसो पनि बचाउन पर्ने थियो उनीहरुलाई।  हिड्दै जादा एउटा खाली पाटीमा पुगे।  त्यही पाटिमै रात बिताउने विचार गरे उनीहरुले।

एकैछिनमा दुइजना अधबैसे केटा र केटि आइपुगे उनीहरु बसेकै ठाँउमा। उनीहरुले आँखै अगाडी छट्पट गर्दै  के के सुघे।  केटाले नाडीमा सुइ घोप्यो। केहीबेरपछि केटा र केटि नाङ्गै भएर नजिकैको झाडीभित्र घुसे।रुखको आड लाएर केटो उभियो। केटि उसँग मुख जोडेर उभिई।  यस्तो हर्कत त उनीहरुले  गाँउमा कसैले गरेको पनि देखेका थिएनन। आधा रातमै हिडे त्यहाँबाट ।

हिड्दा हिड्दै नारायणी नदिको पुलमाथि पुगे।बाटोको दुबैतिर एकदुई कुकुर बाहेक  सुन्य थियो। बाटोमा  रात्रिबस एकतमासले हुइकीरहेका थिए पुलै हल्लिनेगरी।

नारायणी नदीको पुल काटिसकेपछी  एउटा सानो छाप्रो भेटे उनीहरुले।  यहि छाप्रोमा बाँकि रात कटाउने विचार गरे। छाप्रोभित्र जुनको उज्यालोमा मनाबकृति देखे जुटको बोरा ले बेरिएको अवस्थामा। नजिकबाट नियालेर हेर्दा सास फेरेको थाहा पाए।  धुलो र मैलो ले गुन्द्रुक जस्तो परेको कपाल, कालो मोसोले पोतेजस्तो अनुहार , जुट र पलास्टिकको बोराहरूले बेरेको शरीर, घुडा देखि तल नाङ्गै। डोला डोला तिघ्रा र अनुहारको आकृतिले महिला हो भन्ने लाग्यो उनीहरुलाई। देवीहरुका पोस्टर, कोक् र रक्सिका खाली बोतल, प्लास्टिकका झोला, धजा जस्ता देखिने बस्तुहरु उसको कोखैमा थिए। कठै! यो अवस्था देखेर मनमा तुफान चल्यो लालबहादुरको। नराम्रो संग चिसो पस्यो। 

'कतै सानुमाया त हैन यो ? ' फेरी मनमनै भन्यो 'हैन' सानुमाया त अस्पतालमा छे।  भोलि उसलाई भेट्नुछ  पुलिस चौकीमा।'

लालबहादुर र ज्ञाने त्यहि नजिकैको पाटिमा गएर बसे।  एकैछिनमा एउटा रिक्सा तेही छाप्रोनिर रोकियो।  हेर्दा 
 कालो, पातलो  त्यो रिक्सावाल सरासर त्यो छाप्रोभित्र  पस्यो र  जुटको बोरामा बेरियकी महिलालाई  चलाउन लाग्यो।  एकैछिनमा बोरो तान्यो र चरनाम नाङ्गो  बनाइदियो उसको शरिर। ऊ घरि घरि आफ्नो लाज ढाक्न खोज्थी दुइ हाँतले तर त्यो मान्छेले घरि घरि छातीमा र दुई खुट्टाको बीच भागमा हात घुसार्थ्यो। उसले भुइबाट बोतल निकालेर उसको टाउकोमा प्रहार गर्न मात्र के लाएकी थिई, त्यो व्यक्तिले उसको हात च्याप्प सम्मत्यो र भुइमा लडायो। त्यसपछिको दृश्य लालबहादुरले  हेर्न सकेनन्।  कहिले नखसेका आँशुका ढील्का तप्प खसे भुइमा।  "ओहो के नर्क जस्तो रैछ यो शहर", मनमनै भने  उनले। 

धेरैबेरमा रिक्सावाल पुन: रिक्सामा चढ्यो  र लाग्यो पुरानो कारखाना भएको भवनतिर। भर्खरकै केटि जस्तै देखिले त्यो महिलाले  पुन बेरी जुटको बोरा र रुन थाली एकोहोरो।  त्यो सुनसान रातमा उसको चोटलाइ सुन्ने कोहि थिएन त्यहाँ। नारायणी नदीको एकोहोरो सुस्याहटसंगै  बिलायो उसको आवाज क्षितिजतिर। एउटा लुते कुकुर उसको छेउमै गएर सुत्यो। त्यो महिलालाई कुकुरको बढी भरोसा लाग्यो र पुन पल्टी त्यो कुकुरसँगै। 

केहिबेरपछी पूर्व दिशामा सुनौलो क्षितिज देखिदै गयो।  त्यो महिला पनि आफ्नो समानहरु प्लास्टिकको बोरामा हालेर हिड्न थाली।  बिहानको उज्यालोमा अनुहार प्रस्ट देखियो।  उसका पुष्ट छाती ढाक्ने बस्तु केहि थिएन।  कम्मर देखि तल जुटको बोरालाई प्लास्टिकको रसिले कसेर जनतन लाज ढाकेकि थिई ।

" तिनिहरु सबै उडे उ हेर हेर ! मेरा भगवान आउ मलाई लिन।  हेर हेर उ. . . "  उ एकोहोरो चिच्याउन थाली।

लालबहादुरले बेसरी नियालेर उसको उनुहारमा हेरे र भने " ज्ञाने त्यो त सानुमाया जस्तै छ त।  हेर त अलि राम्रोसंग।"

ज्ञाने उसको अलि नजिक गयो।  जब त्यो महिलाको अनुहारमा खत देख्यो त्यसपछि उसलाई त्यो सानुमाया हो भन्ने पक्का भयो।  उसको हंसले ठाउँ छोड्यो।  उसका खुट्टा लुला भए।  अब कसरि यो कुरा लालबहादुर लाइ भन्ने।  उसलाई रिंगटा लाग्यो।  रातिको त्यो दृश्य उसको आँखामा कसिंगर झैँ बिझायो।

एकैछिन पछि त्यो महिला मुलबाटोको बिचमा उभिएर पूर्वदेखि आउदै गरेका  गाडीहरुलाई  हात देखाउदै रोक्न खोजि तर गाडीहरु एकतमासले हर्न बजाउदै भागिरहे उसलाई छेल्दै।

ज्ञाने लालबहादुर भएको ठाउमा गयो र त्यो मानशिक सन्तुलन गुमाएकी  महिला सानुमाया नै भएको बतायो।  लालबहादुरलाई एकैचोटी सयौ बरुलाले चिले जस्तै भयो।  " हरे शिव के देख्नु पर्यो यस्तो सपनामा पनि नचिताएको", उनले भने।

उनले ज्ञानेलाई सानुमयासंग  गएर कुरागर्न भने। ज्ञाने सानुमायाको नजिकै गयो र उभियो।  तेतिन्जेलसम्म  सानुमाया नारायणीको पुलको पूर्वतिर बस रोक्ने ठाँऊमा  पुगिसकेकी थिइ।

पहिले त उसले कतै आफै चिनेर बोल्छे कि भनेर उसको अघिल्तिर गएर उभियो ज्ञाने। सानुमायाले उसलाई देखेको नदेखे गरी। बोल्ने हिम्मत आएन उसलाई।  धेरैबेर नारायणी पुलको रेलिंग समातेर उभिरह्यो ऊ। केहीबेरमा हिम्मत बटुलेर उसले बोलायो , " भाउजु। "

उसले कुनै रिस्पोन्स गरिन।  उसले आफुसंग भएका कवाडी सामानहरु एक एक गर्दै नारायणी नदितिर झर्ने बाटोमा फालिरही धेरैबेर सम्म।   बिहानको बेला भएकोले साईकलवालाहरुको भिड बढिसकेको थियो। पैदल यात्रीहरु पनि बाक्लै यताउति गरिरहेका थिए। कसै कसैले "बिचरा! को होलि, यस्ति भर्खरकी केटि छ" भन्दै जान्थे भने कसैले उसको नग्न शरीरको छाती र खुट्टातिर हेर्दै र हास्दै जान्थे।

 ज्ञानेले पटक पटक बोलायो तर कुनै प्रतिक्रिया देखाइन उसले। भुईमा भएको  काठ टिपी  र हावामा दायाँ र बायाँ नचाउदै  नारायणगढ  बजारतिर दौडी। मान्छेहरु "बौलाई आई " भन्दै चिच्याउदै भाग्न थाले। 

ज्ञाने लालबहादुर भएको ठाउमा फर्कियो। उसले सानुमाया कसैलाई पनि नचिन्ने अवस्थामा भएको सुनायो।  उसले भर्खरै सानुमायाले गरेका क्रियाकलापहरुको  बारेमा पनि बतायो।  दुवै जना केहीबेर चुप बसे।  उनीहरुलाई के गर्ने के नगर्ने केहि उपाय आएन।

सानुमायासंग आफुले नैअगाडी उभिएर कुरा गर्ने बिचारले लालबहादुर ज्ञानेको पछि पछि लुरु लुरु सानुमाया गएको दिसातिर हिडे। उनीहरुले दिनभरी देवघाट , गणेश मन्दिर , हस्पिटल लाइन , कम्पास चोक, हाकिम चोक , पुरानो , नया बसपार्क कता कता मात्रै खोजेनन उसलाई। तर हावामा प्वाँख उडेसरि हिडेकी सानुमाया कहाँ पुगी उनीहरुले भेट्न सकेनन।  दिनभरिको खोजिले  केहि पत्तो नलागे पछि उनीहरु पुन पुलिस चौकीमा शरण  लिन पुगे।  आफुहरुले सानुमायाँलाइ देखेको र ऊ संग छुटेको सबै वृतान्त सुनाए।  उनीहरुले राति सानुमायाँसंग रिक्शावालाले गरेको बलात्कारको घटना पनि सुनाए।

पुलिसको लागि यो कुनै नौलो थिएन।  दिनदिनै जस्तो गाँउ  गाँउबाट  मानशिक अवस्था बिग्रेकाहरुलाई  ल्याएर बजारका गल्लि गल्लिमा छोड्ने चलन सामान्य बनिसकेको थियो।पुलिसको जानकारीमा  भए अनुसार भरतपुरमा मात्रै सयौ भन्दा  बढीको संख्यामा पागलहरू छन्।  कतिपय त भारतीय मुलका पनि थिए।  पुलिसले सानुमायाँलाइ खोज्ने सामान्य आस्वासन दिएपछि उनीहरु पुन सडकमा निस्के।

 तीन दिनसम्म सडकमै सुतेर सानुमायालाइ खोजेपनि भेट्न सकेनन्। यदि भेटिहाले पनि के गर्ने ? के उसले चिन्ली आफ्नो ससुरालाई ? कहाँ हुन्छ उपचार ? राँची भन्ने त सुनेका थिए उनले तर कसरि लैजाने त्यहाँ ? कति पैसा लाग्छ उपछकेहि उपाए नलाग्ने देखेपछि  उनीहरु  घर फर्कने विचार गरे। 

एकहप्ता पछि  देवघाटको एकजना सन्यासीले सानुमायाँलाइ घाटमा मान्छे पोलेको ठाँउमा  कोइला टिप्दै गरेको देखेछ।  एउटा नाङ्गो शरीर  मध्यरातमा यताउति गरेको देखेपछि उनलाई सुरुमा त भुत प्रेत हो जस्तो लाग्यो।  जुनेली रातको उज्यालोमा त्यो मानाबाकृति प्रस्ट देखियो।  नजिकैको कुटीमा बसेका ति दयालु संन्यासिले भोलिपल्ट देवघाटमा रहेको एउटा मानब कल्याण संथालाई खबर गरे। नबजिबन फ़ाउन्डेसन नामक त्यो  संस्थाले सानुमयालाई देवघाटको पुलनजिकै प्लास्टिक बटुल्दै गरेको अवस्थामा फेला पार्यो। उतिबेलै पुलिसलाई खबर गरि उनीहरुले सानुमयाको उद्दार गरे।

नवजीवन संस्थाले सानुमयाको जिम्मा लियो र उपचारको समेत व्यवस्था मिलायो।  भरतपुरको शिक्षण अस्पतालमा सानुमायाँको उपचार हुने भयो।

भारतको राँचीमा पन्द्र वर्ष सेवा गरेर भरतपुर अस्पतालमा आएका डाक्टर अखिलेसले सानुमयाको उपचारको जिम्मा लिए। सानुमयालाई नुहाईहुरी उसको प्राथमिक उपचार सुरु भयो। उसको  शरीरभरी भएका घाउहरुमा औषधि उपचार गरि उसलाई तेही एउटा कोठामा राखियो। सानुमायाँलाई उसको नाम , घर, परिवार, को? कहाँ ? सबै सोधियो। तर उसले केहिपनि सम्झन सकीन। एकोहोरो हेरेको हेरै गर्ने, बेलाबेला हाँस्ने , चिच्याउनी गर्थी ऊ।
डाक्टर अखिलेसले इलेक्ट्रोकन्वुल्सिव ECT अर्थात् दिमागमा करेन्ट  लगायर उपचार गर्ने कुरा नवजीवन फाउन्डेशनकी शुस्मिता परियारसंग गरे। उपचार गर्ने क्रममा जे जसो परेपनि आफु दोषी नठहरिने गरि कागजमा दस्तखत गर्न लगाए।

भोलिपल्ट सानुमयालाई सुइ लगाएर बेहोस पारियो। उसको टाउकोको रौ काटियो र इलेक्ट्रोड अर्थात् बिजुलीको तार टाउको मा झोसियो। यसरि पन्द्र बिस पल्ट उसको टाउकोमा करेन्ट लगाइयो। सानुमायाले फुस्रा आखाँ देखाइ तर उ होसमा आइन। लामो समयसम्म होशमा नखुलेपछि एकजना नर्सले आइ सी यु मा राख्ने सल्लाह दिई। तर आई सी यु को फिस महँगो पर्ने र यो बेहोर्ने कोहि नभएकोले उसलाई यतिकै दिनभर बेहोस अवस्थामै राखियो। राति सानुमायाले सास फेर्न छोडी। शुस्मिता परियारलाई बोलाएर अस्पतालले सबै वृतान्त बतायो। लाश जिम्मा लगायो। सानुमायाको लागि रुने  कोहि थिएन त्यहाँ।किन मोरी? कसले मार्यो? किन मार्यो ? प्रस्नहरु सोध्न कोहिपनि आएनन् त्यहाँ।  न अस्पतालमा ढुंगा मुडा गर्न नै  कोहि  आए। 

सानुमायाँको इहलिला समाप्त भयो।














0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home