Monday, July 1, 2019

क्यानाडा डे

जुलाई १ क्यानाडा डे ।  सोमबार, जुलाई -१ गते  उत्तर अमेरिकाको ब्रिटिश उपनिवेशहरु नोवास्कोसिया, न्यु ब्रुन्स्विक  र प्रोभिन्स अफ क्यानाडाको बिचमा समझादारी  पत्रमा हस्ताक्षर गरेर बिधिबत रुपमा क्यानाडाको जन्म भएको हो।अर्को अर्थमा भन्दा ब्रिटिश उपनिबेसबाट क्यानाडा स्वतन्त्र भएको दिन।   यसै दिनलाई क्यानाडाको जन्मदिनको रुपमा मनाउदै आएको हो रैछ। हिसाब गर्दा जम्मा १५२ वर्ष भएछ क्यानाडा। हामि आफ्नो जन्म दिन त  थाहा नहुने मान्छेलाई नेपाल कतिबर्ष भयो भन्ने थाहा नै छैन। कहिले मनाउने गरेको भए पो थाहा होस्।
खयर जे होस् , हामि  परदेशलाई कर्मथलो बनाएर बसेका नेपालीहरुको लागि  क्यानाडा दोस्रो घर हो। क्यानाडामा सार्बजनिक बिदाहरू अत्यन्त कम हुने र कामको महत्व बढी हुने गर्दा हामि नेपालीहरु पनि कामकै व्यस्तताले गर्दा कतै घुम्न जान होस् वा साथीभाईहरु बसेर रमाइलो गर्नको लागि यिनै बिदाहरु कुर्नु पर्दछ। सानो संख्यामा भएका नेपालीहरुको बिचमा पनि ससानो आआफ्नै ग्रुप छ। कतै ढुकुटी ग्रुप, कतै भजन मण्डली, कतै संगीत मझेरी। नाम जे भएपनि विचार र कामकुरो मिल्नेहरुको बिचमा बेला मौकामा भेटघाट गर्ने, रमाइलो गर्दै एकन्तपनलाई भगाउने मनासायले जन्मेका हुन्छन यिनीहरु कतै भाइबरमा त कतै फेसबुकको मेसेंन्जरमा। कुनै  कार्यक्रम आयोजना गर्नको लागि महिनौ अगाडीदेखि टीडीङ्ग टिडीङ्ग सुरु हुन्छ।
हामीहरुको एउटा ढुकुटी ग्रुपले पनि यस्तै कार्यक्रमको आयोजना गर्यो आज, क्यानाडा डे को अवसर पारेर। कार्यक्रम स्थान सबैलाई पायक पर्ने रंडल पार्क रोजियो सर्बसहमतिमा। सस्काचेवन नदीको छेउमा लमतन्न सुतेको यो पार्क अति सुन्दर छ। कार्यक्रम बिशेष गरेर मनोरंजनमा केन्द्रित भएकोले नाचगान तथा केटाकेटीहरुको लागि खेलकुदको लागि पायक पर्ने पिकनिक थलो रोक्नको लागि नारायण भट्टराई, बिष्णु अर्याल र म एकाबिहानै पार्कमा पुग्यौ। बिहानको मौसम सफा भएकोले पानि पर्ने पूर्वानुमान गलत भएको हो कि भन्ने पनि भयो। यताउतिबाट टेबल लियर फुटबल ग्राउन्डको नजिकैको पिकनिक थलो रोकियो। तर त्यहि बस्दा बस्दै पानि पर्न थाल्यो। कार्यक्रम हलभित्र भन्दा बाहिर नै रमाइलो हुने हुदा हामि सकभर कार्यक्रम बाहिर नै गर्न खोज्दै थियौ। तर मौसम भने हामीलाई च्यालेन्ज गर्दै थियो।
कार्यक्रमको संयोजकको रुपमा हिरामणि पौडेल लाई तोकेका थियौ। एकैछिनमा उहाँ पनि कार्यक्रम स्थल आइपुग्नुभयो।  सबै परिवारहरु दश बजेभित्र जम्मा भैसक्नु पर्ने उर्दी जारि भएको थियो। खानाकोलागि क्याटरिंगको व्यवस्था थियो।  जिम्मेबारी बाडफाडमा तिलक अर्याल लगायतका साथिभाईहरु थिए। त्यस्तै बार्बेक्युको जिम्मा टेक खत्री लगाएतका साथीहरुको थियो। कार्यक्रमको बाडफाडले गर्दा सबै काम असाध्यै राम्रो संग भएको थियो। समस्या एउटा मात्र थियो अषारे झरी। त्यसमाथि पनि यहाँको मौसमको कुनै भरोसा हुदैन। एकैदिनमा माइनस र प्लस दश डिग्री सेल्सिअस तापक्रम पुग्ने ठाउँमा छिनमै पानि पर्ने र छिनमै घाँम लाग्ने हुदा भरपर्ने मौसम कहिले पनि हुदैन। बिस्तारै सबैजना जम्मा हुदै जाँदा पानि पर्ने क्रम पनि बढ्दै गयो। त्यहाँ नजिकै भएको एसीटि  मनोरंजन केन्द्रमा गएर अकस्मात एउटा हल बुक गरियो। 'सोसल हल ' भाग्यले गर्दा भन्नुपर्छ आजको दिनमा पनि  त्यो खाली रहेछ। सामानहरु सबै जम्मा गरेर केटाकेटि र नेपालबाट छोरा, बुहारी होस् या छोरी ज्वाई भेट्न आउनुभएका बुवा आमाहरुलाई भित्र बस्ने व्यवस्था मिलाइयो। मुकुन्द, चेतन , भुवन , राजेन्द्र लगाएतका साथीहरु हल्का स्नाक्सहरु बनाउने तरखरमा जुटे  भने तिलक, कमल, पूर्ण लगाएतका साथीहरु कुखुराको खुट्टा पोल्ने चाजोपाजो मिलाउन कम्मर कसे। डिल्ली आचार्य लागायतका केहि साथीहरु म्युजिक सिस्टम मिलाउनतिर लागे।
हामि सबै नेपालीहरुको प्राय  छोराछोरीको रेखदेख गर्ने जिम्मा महिलाहरुको हुन्छ। यहाँ पनि यो अपबाद हुन सकेन। छोराछोरीहरुतिर नजर पुर्याउदै पनि उहाँहरु कम्मर मर्काइ मर्काइ, ज्यान ढल्काइ ढल्काइ प्रकाश सपुत र प्रिती आलेको दोहोरिमा जमेर नाच्नु थाल्नु भयो। उहाँहरुको पॉवर डान्सले केटाहरुमा पनि जोस सल्काइदिएछ  क्यारे हलको बाहिर शुरु भयो "गलबन्दिको" डान्स। संगीतको शक्ति यति जादुगर हुन्छ एकैछिन अघिसम्म निधारभरी निन्द्रा र थकान बोकेर आएका साथीहरुको अनुहारमा एकाएक चमक ल्याएको थियो । त्यसैमाथि अलि अलि " खै के खाएर बिग्रे , चुइन लाएको मन मायाले छाएर बिग्रे " भनेझै माहौल डाइनासियन हुदै गैरहेको थियो। बाहिर बाटोमा हिड्नेहरुले पनि घाँटी र ओठ तन्काइ तन्काइ हेर्दै थिए।
कतिपय स्थानीय नेताहरु पनि छिरे हलभित्र। सबैलाई क्यानाडाको झन्डा बाँडे, सबैसंग पालै पालो फोटाहरु खिचे, र नेपाली गीतमा कम्मर मर्काइ मर्काइ नाचे। कति जानेका हुन् जनताको मन जित्न। चुनाबको बेला त हाम्रा उतातिराका नेताहरु पनि कम त कहाँ छन् र , चुनाब पछि भने दुइचार जना कार्यकर्ता भए पुग्यो उनीहरुलाई । हुन त यिनीहरु पनि भोट कै लोभले डुलेका हुन् तर पनि समाबेसी कोटामा परेको भाँन पर्दो रैछ हामीलाई । संगै फोटो खिच्न मन लाग्दो रैछ। दुइचार कुरा बोल्न मन लाग्दो रैछ। कतै हेजेमोनीको प्रभाब पनि हो कि ? जे होस् नेताहरु सामान्य नागरिक सरह, क्याजुअल कपडा लगाएर हिड़छन्। सरल भाषा बोल्छन। दिएको खानेकुरा मिठो मानेर खान्छन, र ताल नमिलेपनि एकैछिन संगै नाचिपनि हाल्छन।
 नेपालि रेस्टुरेन्ट बाट खानको अर्डर गरेका रहेछन क्याटरिङ्ग ब्यबस्थापक तिलक अर्यालले। तातो तातो खाना आइपुग्यो चार बजेतिर। त्यतिबेलासम्म महिलाहरुको पावर डान्स पनि फ्यूज भैसकेको थियो भने केटाहरुको पनि चमक सेलाउदै थियो। ठिक त्यसैबेला कताबाट इनर्जी रसको  घुसपैठ भएछ बाहिर , एकाएक माहौल तातिहाल्यो। हलभित्र छिरेर फेरी सुरु भयो झिल्के डान्स। मझौला खालका केटाहरु भने बाहिर फुटबल खेलिरहेका थिए। कतिपयले पुलका गोटी हातैले भएपनि प्वालमा झिराउने प्रतिस्पर्दा गर्दै थिए। हामीसंगबाट समय चिप्लिदै थियो। पाँच बजेसम्म हल सरसफाई गरेर जिम्मा लगाउनु पर्ने थियो। चारबजेतिर खानको लागि उर्दी जारि भयो। सबैले स्न्याक बढी बढी खाएकोले होला आधा भन्दा बढी खाना बच्यो। एउटा टोलि खटेर खाना सबै बाहिरको सेड न. दुईमा सारियो।
दिनभरी पानि परेकोले गर्दा पार्कको चौर चिसो र हिलो थियो। केटाहरुको टोलि पुन छोराछोरीलाई आमाको साथमा छोडेर जंगल सफारीमा निस्के। जिबनका तिता मिठा पल सम्झदै , हाँसो ठट्टा गर्दै टोलि करिब तिन किलोमिटर जतिको यात्रा गर्न सफल भयो। यात्राको क्रममा विडियो र फोटा खिच्ने काम नहुने कुरै भएन। एकदर्जन भन्दा बढी फोटाहरु त पुलको मुखमा खिचियो होला। कहिलेकसो लाग्छ 'यस्ता खाले प्रोग्राममा मुख्य कुरा फोटा खिच्ने नै हो कि।' हामि फोटो खिच्दै गर्दा सस्काचेवन नदीको किनारको माथिपट्टी एकजोडी खैराहरुले मायाको कनेक्सन गर्दै थिए। उनीहरुको त्यो असिम क्षणलाई न हाम्रो खाट्टी नेपाली गफ र हाँसोले अल्मल्लायो, न खुट्टामै फुरुल फुरुल पुच्छर घुमाइदिने चिपमंकले। खाट्टी मायालाई आँधीबेहरीले त छुन सक्दैन भन्छन हाम्रो खाट्टी हल्लाले के छुन्थ्यो , हामीतिर त फर्केर पनि हेरेनन्।

चिसो बढ्दै गएकोले गर्दा पिकनिक स्थल फर्किसकेपछि घरतिर लाग्ने कुरो भयो सबैजनाको। मनले त अझै पनि झ्याम झ्याम नाचौ , टेन्ट टाँगेर यतै सुतौ भनिरहेको थियो।  भनेर भएन कसैलाई घर पुग्नासाथ काममा कुद्नु थियो भने कसैलाई भात उसिनेर हुन्छ या पाउरोटीमा जाम दलेर भोलिको लागि लन्च तयार गर्नु थियो। घर फर्किने बेला सबैको अनुहारमा उज्यालो पदार्थ गुमनाम थियो। तर बाध्यता आआफ्नै। कसैले बचेको खाना पोको पारेर भोलिको लन्चको व्यवस्था गरे। कसैले छोरा छोरी बोकेर गाडीतिर लागे। स्पिकरम अझै गित बज्न खोज्दै थियो च्यार च्यार। यतिबेला न यसले पावर डान्स दियो र अनुहारमा कान्ति।  रेभ कन्सर्ट पछिको एरिना जस्तै भयो हाम्रो त्यो पिकनिक थलो।

 

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home